By Rks
नेपाल–भारतको खुला र लामो सीमामा विभिन्न स्थानमा सीमा सम्बन्धी विवाद र फरक दाबीहरू रहँदै आएका छन्। विगतमा भारतका तर्फबाट पनि केही स्थानमा नेपालले भारतीय भूभाग प्रयोग गरेको भन्ने अभिव्यक्ति आएको देखिएको छ। त्यसैले यदि दुवै देशले सीमा पुनः नक्साङ्कन वा पुनः रेखांकन गर्ने हो भने केही क्षेत्र यता–उता पर्न सक्ने सम्भावना स्वाभाविक रूपमा रहन्छ।
प्रधानमन्त्रीले पनि यो विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको बताउनुभएको छ। शब्द चयन सबैलाई मन नपर्न सक्छ, तर आम नेपालीमा आत्मविश्वास जगाउने सन्दर्भमा "हामीले पनि भारतको भूमि मिचेका छौँ" भन्ने अभिव्यक्ति दिइएको हुन सक्छ। यस्तो कुरा सुनेपछि भारततर्फ पनि चासो बढ्न सक्छ कि वास्तवमै सीमा सम्बन्धी विषय के हो भनेर।
वर्षौँदेखि भारतले नेपालको भूमि मिच्यो, बाटो बनायो भनेर गुनासो गरिँदै आएको छ। तर ती विषयहरू समाधानका लागि ठोस प्रगति भने सीमित देखिएको छ। अहिले उठेको बहसले भारत सरकारमाथि पनि सीमा सम्बन्धी विषयलाई गम्भीर रूपमा हेर्न र नेपालसँग बसेर छिटो तथा स्पष्ट रूपमा सीमा पुनः रेखांकन गर्ने दबाब सिर्जना गर्न सक्छ।
त्यसैले कुनै अभिव्यक्तिलाई केवल सतही रूपमा हेर्नुभन्दा त्यसको सम्भावित रणनीतिक पक्ष र त्यसले उत्पन्न गर्न सक्ने कूटनीतिक प्रभावलाई पनि विचार गर्नु आवश्यक हुन्छ।